© २०२३
बाँके, १७ भदौ २०८१ – बाँकेको नरैनापुर गाउँपालिका-३ स्थित गेगली गाउँमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ। स्थानीय प्रशासनका अनुसार, झाडापखालाबाट सात जना बिरामी परेको पुष्टि भएको छ।
नरैनापुर-३ का वडाध्यक्ष अजय मिश्राका अनुसार, झाडापखालाका कारण २५ वर्षीया रुसा पासी, उनकी डेढ वर्षीया छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी, र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको हो।
भारतीय सीमासँग जोडिएको गेगली गाउँमा झाडापखाला फैलिएको पुष्टि नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले गरेका छन्। उनले आफूसहित स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित क्षेत्रमा पुगेर बिरामीहरूको उपचार गरिरहेको जानकारी दिए।
झाडापखाला नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बाँकेसँग समन्वय गरिरहेको पनि बताइएको छ। स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मी र दूषित खानेपानीका कारण झाडापखाला फैलिएको हुनसक्ने बताएका छन्।