© २०२३
१६ भदौ, काठमाडौं – विभिन्न सहकारी संस्थाहरूबाट आफ्नो बचत रकम फिर्ता नपाएका सर्वसाधारणले गरेको प्रदर्शनमा सरकारले अवरोध गरेको छ। शान्तिवाटिकाबाट सिंहदरबारतर्फ जुलुस अघि बढाउँदै गरेका सहकारी पीडितमाथि भद्रकालीमा प्रहरीले लाठी प्रहार गरेको छ।
लाठीचार्जका कारण केही प्रदर्शनकारी घाइते भएका छन्। सिमसिमे झरीका बीचमा बचत रकम फिर्ता माग्दै प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै रोक्ने क्रममा लाठी प्रहार गरेको हो।
प्रहरीले सिंहदरबारतर्फ जान नदिएपछि सहकारी पीडितहरूले आफ्नो मार्ग परिवर्तन गरी शहीदगेटतर्फ अघि बढेका छन्। उनीहरू त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर पुग्ने तयारीमा रहेका छन्।
प्रदर्शनकारीहरूले “मेरो छोराछोरी पढ्ने पैसा सहकारीमा छ”, “सहकारी पीडितको घरमा भात तिहुन पाक्दैन”, “सुशासनको कुरा गरेर सरकार कहिल्यै थाक्दैन”, “सहकारी ठगहरू मुर्दावाद”, “गरिबको खुन पसिनाको कमाइ सहकारीले लुट्यो” जस्ता नारा लेखिएका ब्यानर बोकेर विरोध जनाउँदै हिँडेका छन्।