© २०२३
१६ भदाै, काठमाडौ । ३३ वर्ष गोठालो जीवन बिताएका प्रकाश मोक्तानले नेपाली नागरिकता प्राप्त गरेका छन्। प्रकाशलाई आइतबार षडानन्द नगरपालिका-१०, साङपाङस्थित उनको घरमै नेपाली नागरिकता हस्तान्तरण गरिएको हो। यस अवसरमा षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले नागरिकता प्रदान गरे। वडा नम्बर १० का अध्यक्ष प्रेम दोर्जी शेर्पाको सिफारिसमा उनलाई इलाका प्रशासन कार्यालय दिङ्लाले नागरिकता दिएको हो।
प्रकाशको घरमा इलाका प्रशासन कार्यालय प्रमुख बिनोद ज्ञावली र षडानन्द नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं पनि उपस्थित थिए। प्रकाश गत १३ भदौमा गोरखाको चुमभ्याली छाडेर घर फर्किएका थिए। काठमाडौंबाट जहाजमा तुम्लिङटार झरेर शनिबार घर पुगेका उनले अब गाउँमै बस्ने योजना बनाएका छन्।
प्रकाशको घरमा उनलाई छेकम्पारबाट स-सम्मान बिदा गरिएको थियो। चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार, प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन्। यसैगरी, गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने उनले बताए। उक्त रकम प्रकाशले बैंक खाता खोलेपछि मालिक टासी लामाले जम्मा गरिदिने छन्।
प्रकाश १० वर्षको उमेरमा घरबाट हिँडेका थिए र काठमाडौंबाट हराएका थिए। त्यसपछि उनी काठमाडौंबाट गोरखाको चुम भ्याली पुगेका थिए, जहाँ उनले ३३ वर्षदेखि टासी लामाको गोठालोका रूपमा काम गरेर जीवन बिताएका थिए।
लामो समय गोठालो जीवन बिताएर अनागरिक रहेका प्रकाशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भेट्ने इच्छा जाहेर गरेका छन्। गाउँपालिका अध्यक्ष लामाले प्रकाशलाई प्रधानमन्त्रीसँग भेटाउने तयारी भएको बताएका छन्।
षडानन्द नगरपालिकाका मेयर उदासले यसअघि नै साङ्पाङस्थित उनको घरमा पुगेर नागरिकता बनाइदिने, बृद्ध बुवाको उपचार गरिदिने र गाउँमै रोजगारीका लागि पहल गरिदिने प्रतिबद्धता जनाएका थिए। यसअनुसार, प्रकाशले पहिलो चरणमा नागरिकता बनाएका हुन्।