© २०२३
काठमाडौं — काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको ‘नाडा अटो सो २०२४’ मा विद्युतीय गाडीका लागि विभिन्न कम्पनीहरूले नगद छुट अफर प्रस्तुत गरेका छन्। ग्राहकले अटो सोमा निश्चित रकम तिरेर गाडी बुकिङ गरेपछि कम्पनीले तोकेको नगद छुट प्राप्त गर्न सकिन्छ। यो छुट अफर प्रायः अटो सोमा राखिएका विद्युतीय गाडीहरूमा लागू भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा गत मंगलबारदेखि जारी अटो सोमा विभिन्न ब्रान्डका विद्युतीय गाडीहरूको बुकिङ गर्दा १ लाखदेखि १० लाख रुपैयाँसम्म छुट उपलब्ध गराउने योजना कम्पनीहरूले सार्वजनिक गरेका छन्। अग्नि इनकर्पोरेटेडले महिन्द्रा ब्रान्डका विद्युतीय गाडीहरूको बुकिङ गर्दा डेढ लाख रुपैयाँसम्म छुट दिने योजना ल्याएको छ। महिन्द्रा एक्सयूभी ४०० ईवीको बजार मूल्य ५२ लाख ५० हजार रुपैयाँ छ, र अटो सोमा बुकिङ गर्दा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म नगद छुट पाइन्छ। १५ वटा गाडी बुकिङ पछि बम्पर उपहारको रूपमा यचडी स्क्रयाब्लर मोटरसाइकल जित्ने मौका पनि रहेको छ।
हुन्डाईका गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको विद्युतीय आयोनिक ५ र कोना गाडीको बुकिङमा १० लाख रुपैयाँसम्म छुट उपलब्ध गराउने योजना बनाएको छ। ग्राहकले गाडीको मोडलअनुसार १ लाखदेखि १० लाख रुपैयाँसम्म छुट पाउनेछन्।
स्काइवेलका विद्युतीय गाडीहरूको आधिकारिक वितरक जी मोटर्सले स्काइवेल ब्रान्डका गाडीमा ५ लाख रुपैयाँसम्म नगद छुट दिने योजना ल्याएको छ। अटो सो अवधिभरमा बुकिङ गर्ने ग्राहकले न्यूनतम १ लाखदेखि ५ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्।
अटो सोमा १६ कम्पनीहरूले २३ वटा ब्रान्डका चारपांग्रे सवारी साधन प्रदर्शनीमा राखेका छन्। प्रिमियम र इन्टेलिजेन्ट दिपल ईवी र नामी कारका आधिकारिक वितरक एमएडडब्लू वृद्धि अटोकर्पले दिपल र नामी गाडीहरूको बुकिङमा छुट अफर ल्याएका छन्। अटो सोमा दिपल र नामी गाडी बुकिङ गर्दा सात किलोवाट चार्जर उपलब्ध गराइनेछ, र यसका लागि ग्राहकले न्यूनतम २५ हजार रुपैयाँ गाडी बुकिङ गर्नुपर्ने सर्त रहेको छ।
टाटा मोटर्सका आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा पन्च ईवी, टियागो ईवी र टिगोर ईवी खरिदमा नाडा अटो सो विशेष योजना ल्याएको छ। टियागो ईवी र टिगोर ईवीको बुकिङ गर्दा थाइल्यान्ड टुरको अफर रहेको छ। पन्च ईवीको मूल्य नाडा अटो सोमा विशेष छ, र यसको मूल्य अटो सो समाप्त भएपछि १ देखि डेढ लाख रुपैयाँसम्म बढ्नेछ। नाडा अवधिभर बुकिङ गर्दा पन्च ईवीमा एक वर्षका लागि निःशुल्क सवारी कर, ब्याट्री र मोटरमा आठ वर्षको वारेन्टी दिइनेछ।
अटो सो भदौं १६ सम्म चल्नेछ, जसमा २२ लाखदेखि १ करोड रुपैयाँसम्मका विद्युतीय गाडी प्रदर्शनीमा राखिएका छन्। अटो सोमा ९५ प्रदर्शकहरूको सहभागिता छ, र १३० वटा स्टलहरू रहेका छन्। यी स्टलहरूमा ८० प्रतिशत विद्युतीय सवारी साधनका हुन्। हरेक स्टलमा १० देखि ५० वटा विद्युतीय गाडी बुकिङ भएको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताए। “विद्युतीय गाडीमा भीड धेरै छ,” उनले भने, “बुकिङ पनि राम्रो भइरहेको छ।”