© २०२३
१२ भदौ, काठमाडौ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ । अहिले समितिको बैठक बसिरहेको छ । आजको बैठकबाटबाट प्रतिवेदन लेखन कार्य सुरु हुने समिति सदस्य लेखनाथ दाहालले पब्लिक सवाललाई जानकारी दिएका छन ।
प्रतिनिधिसभाको जेठ १५ गते बसेको बैठकले नेकपा (एमाले) सांसद सूर्य थापाको नेतृत्वमा विशेष समिति गठन गरेको थियो । उक्त समितिको म्याद यही भदौ १५ गते सकिँदैछ । थापा नेतृत्वको समितिमा एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट दिलेन्द्र बडू र ईश्वरीदेवी न्यौपाने, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।
यस्तै सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थामा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए नभएको र त्यस्तो गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूबारे अध्ययन छानबिन गरेको समितिले यी विषय प्रतिवेदनमा लेखेर सदनमा पेस गर्ने छ ।