© २०२३
२७ साउन काठमाडौं । सशस्त्र संघर्ष त्याग र बलिदानबाट खारिएर आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आफ्नै सहयात्रीबाट खतरामा परेका छन् । प्रचण्डको उत्तराधिकारी बन्ने होडमा नेताहरू लागेपछि प्रचण्ड खतरामा परेका हुन । पार्टी उपमहासचिवद्वय जनार्दन शर्मा र नेता वर्षमान पुनको दुई लाइन संघर्ष प्रष्ट देखिएको छ । उपमहासचिव शर्माले पार्टी स्थायी समिति बैठकमा १४ पृष्ठ लामो लिखित प्रस्ताव पेश गरेका छन । उनले पेश गरेको दस्तावेजले अध्यक्ष प्रचण्डको कमीकमजोरी र माओवादीको वर्तमान अवस्थालाई छताछुल्ल पारेको छ । शान्ति प्रक्रियापछि लगातार सत्तामा रजाइँ गरेको माओवादी अन्ततः खिइँदै गएको छ । यसबीचमा प्रचण्डले भन्दा बढी अवसर जनार्दन, वर्षमान, हरिबोललगायतले पाए । खिइँदै गएको माओवादीको अपजस अन्ततः सबैले प्रचण्डको काँधमा हालिदिएका छन् । नेतृत्व छाड्नुपर्ने व्यापक दवाबमा रहेका प्रचण्डले भने यतिबेला वृहत वामपन्थी एकताको प्रस्ताव अगाडि सारिरहेका छन् । वामपन्थी एकताका लागि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेसपासँग प्रचण्डले गृहकार्य अगाडि बढाइसकेका छन् । पार्टीभित्रका आन्तरिक कलह भुसको आगोझैं सल्किइरहेको बेला प्रचण्डको वामपन्थी एकता स्वप्निल नारामै सीमित हुने निश्चित छ ।