© २०२३
काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई तिहाई सांसदको समर्थनप्राप्त प्रधानमन्त्री भएका छन् । आइतबार संसदमा विश्वासको मत लिंदा उनको पक्षमा दुई तिहाई सांसदले मत हालेका हुन् । कुल २६३ मतमध्ये १८८ मत ओलीको पक्षमा खसेको हो ।
ओली विगतमा पनि दुई तिहाई विश्वासको मतका साथ प्रधानमन्त्री बनेका थिए । उनी चौंथोपटक प्रधानमन्त्री बनेका हुन् ।
ओलीलाई नेकपा एमालेको ७७, नेपाली काँग्रेसको ८८, जसपाको ७, जनमत पार्टीको ६, जसपा नेपालको ४, लोकतान्त्रिक समाजवादी पार्टीको ४, नागरिक उन्मुक्तिपार्टीको ४ र स्वतन्त्र एक गरी १९२ मतका दलको समर्थन रहेकोमा १८८ मत प्राप्त भएको हो । ती दलमध्ये केहीका सांसद अनुपस्थित रहे ।
उनको विपक्षमा ७४ मत परेको छ । यो मत नेकपा माओवादी केन्द्रको ३२, रास्वपाको २१, राप्रपाको १४, नेकपा एसको १०, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चाको १-१ मध्येबाट हो । योमध्ये केही सांसद मतदानमा अनुपस्थित रहे । नेमकिपाको १ मत तटस्थ रह्यो ।