© २०२३
काठमाडौं, ३० चैत्र । २०८० साल देशले केही उपलब्धि त हासिल गरेको छ तर धेरै काण्डहरुले भरियो । भ्रष्टाचार, कर छली, सत्ताको खेलले धेरै काण्डहरु घटे ।
केन्द्र देखि प्रदेशसम्म सत्ता संघर्षले अस्वस्थ राजनीतिलाई प्रश्रय दियो । प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन नै बदले यो वर्ष । जसको सिधा असर प्रदेशमा पनि पर्यो ।
प्रदेशहरुमा सत्ता ढाल्ने र बनाउने खेलहरु भए । आपराधिक पृष्ठभूमिबाट उदाएका दिपक मनाङे पटक पटक गण्डकी प्रदेशको मन्त्री बने ।
२०८० भर देशमा ठूला काण्डहरु भए । भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहका नाइके र सदस्यहरु जेल गए । ललिता निवास प्रकरणबारे महत्वपूर्ण फैसला आयो ।
बाँसबारी छाला जुत्ता कारखानको जग्गा हडपेको अभियोगमा चौधरी ग्रुपका दाजुभाईहरु छानविनमा परे । अरुण चौधरी त हिरासतमा परे । विनोद चौधरी र वसन्त चौधरीसँग सीआइबीले बयान लियो ।
सुनकाण्ड चर्चामा पुग्यो । सुनकाण्डमा प्रहरीमाथि नै कारबाही भयो । पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत पक्राउ परे ।
सबैभन्दा बढी सरकारी र सार्वजनिक जग्गा हडप्ने काण्डहरु बाहिर आयो । झापाको गिरीबन्धु टी स्टेटको जग्गा हडप्ने गतिविधिविरुद्ध अदालतले महत्वपूर्ण फैसला सुनायो । मन्त्रिपरिषद्को निर्णय नै बदर गरिदियो ।
छायाँ सेन्टर बनेको ठमेलस्थित कमलपोखरीको जग्गाको २६ रोपनी खोज्न अदालतले आदेश दिएको छ । योसँगै छायाँ सेन्टर भत्कने सम्भावना बढेको छ ।
देशमा यो वर्ष एनसेल काण्ड चर्चामा आयो । देशलाई दशौं अर्ब नोक्शानी पर्ने गरी एनसेलको शेयर खरिद विक्री भयो । यो काण्डमा देशका शीर्ष नेता देखि नाम चलेका व्यापारी नै संलग्न रहेको खुलेको छ । यसलाई सामसुम पार्ने प्रयास चलिरहेको छ ।
टेलिकम माफियासँग प्रधानमन्त्री प्रचण्ड र उनीनिकट व्यापारीको साँठगाँठबारे विदेशी पत्रकारले कुकुल्यान्ड नामक पुस्तक लेखेर खुलासा गरिदिए । यसले नेपालमा माफियाको जालोबारे सनसनीपूर्ण खुलासाहरु भए ।