© २०२३
२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको अभियानका कारण सरकार परिवर्तन भएको दाबी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने “सरकारको सुशासन अभियानले हिजोसम्म शासन गरिरहेको वर्ग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो । एउटा समूह डरायो । ललितानिवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तिको प्रक्रिया सुरु भयो अर्को समूह डरायो “भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठूलै समूह डरायो ।” बाँसबारीदेखि बालमन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्तिसन्तुलन नै खल्बिलिन पुग्यो । त्यही शक्तिले कांग्रेस र एमालेलाई मिलायाे । सदनमा रहेका दुई ठूला दलहरु कांग्रेस र एमाले मिलेर सरकार चलाउँदा सदन निरंकुशतातर्फ जाने पनि बताए । उनले दुई ठूला दलको सत्ता यात्राले देशलाई प्रतिगमनतर्फ लैजान खाजेको आरोपसमेत लगाए । उनले भने ‘पहिलो र दोस्रो मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता प्रबर्धन हुन्छ । यहाँ त सरकार मात्र बनाउने होइन संविधानमाथि छेडछाड समेत गर्न खोज्दै हुनुहुन्छ । तपाईंहरूको यात्रा प्रतिगमततर्फ हो । हस्ताक्षर कसका घरमा गर्नुभयो ? सहमति कुन समयमा गर्नुभयो ? त्यसको हिसाब नेपाली जनताले राखेका छन । ।