© २०२३
२४ असार, काठमाडौँ । एमाले र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार ओली प्रधानमन्त्री हुने र त्यसमा कांग्रेसबाट १० जना र एमालेबाट ९ जनाले मन्त्रीको जिम्मेवारी पाउने गरि भागबन्डा पहिले नै भइसकेको छ । एमालेको भागमा पर्ने ९ मन्त्रालयका लागि अहिले २ दर्जनजति सांसदले चाहाना राखेका छन् । यस अघि प्रचण्ड नेतृत्वको गठवन्धन सरकारमा एमालेले सचिव रघुवीर महासेठको नेतृत्वमा ८ जना मन्त्री पठाएको थियो । प्रचण्ड नेतृत्वमा बनेका मन्त्रीहरूमा कानुन मन्त्रीबनेका पदम गिरीबाहेक अरु कोही दोहोरिने सम्भावना नभएको एमाले स्रोत बताउन्छ । प्रचण्ड सरकारमा पठाएका कुनै पनि एमाले मन्त्रीहरूले राम्रो काम नगरेको प्रति एमाले नेतृत्व सन्तुष्ट भएको बुझिन्छ । त्यसैले पनि अहिले एमाले नेतृत्व राम्रो काम गर्नसक्ने व्यक्तिलाई नम्बरका आधारमा मन्त्री बनाउने तयारीमा छ । पहिलो नम्बरमा उपाध्यक्ष विष्णु पौडेल छन् । पटक-पटक उपप्रधानसहित अर्थमन्त्री बनेका उनी यसपटक पनि सोही मन्त्रालयका दावेदार हुन् । यतिबेला एमालेमा उपाध्यक्ष विष्णु पौडेलबाहेक अर्थमन्त्रीका लागि अर्को अनुहार देखिँदैन । त्यसैले अनुभवी नेता उपाध्यक्ष पौडेल अर्थमन्त्रीका लागि एक्ला दाबेदार रूपमा हेरिएको छ ।
अध्यक्ष ओलीले अर्थमन्त्रीमा पौडेललाई लैजाने कुरा करिब निश्चित भइसकेको बुझिन्छ । पौडेल यसअघि प्रचण्ड सरकारमा उपप्रधान तथा अर्थमन्त्री बनेका थिए । अर्थतन्त्रका विषय विज्ञ नभए पनि अर्थराजनीतिसँग जोडिएका सबै सरोकारवालासँग राम्रो समन्वय गरेर मन्त्रालय चलाउने खुबीले पौडेल निजीक्षेत्रले पत्याएका अर्थमन्त्री हुन् । उनी मन्त्री हुँदा शेयर बजारले सधैँ स्वागत गरेको विगत छ ।
पौडेलपछि एमालेबाट मन्त्री हुनेको सम्भावित सूचीमा सचिव छविलाल विश्वकर्मा, योगेश भट्टराई गोर्कण विष्ट छन् । यता विद्या भट्टराई र एलपी सावाँ लिम्बूको नाम पहिलो प्राथमिकतामा राखेको बुझिन्छ । त्यस्तै राष्ट्रिय सभा सदस्य डा अञ्जान शाक्यलाई नेता रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, एमाले सचेत सुनिता बराल प्रमुख सचेतक महेश बर्तौला, जुलीकुमारी महतो महासेठ, इश्वरबहादुर रिजाल, गोकुल बाँस्कोटालगायतले मन्त्री बन्नका लागि लविङ गरिरहेकाे बुझिन्छ ।