© २०२३
काठमाडौं, २८ चैत्र । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । उनीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हो।
भरतकुमार थापा भरत ताल बनाउने मेयरका नाममा चिनिन्छन् । सर्लाहीको बागमती नगरपालिकामा उनले निर्माण गरेको मानव निर्मित ताल भरत ताल पर्यटकीय महत्वको छ । उनी यसकारण पनि चर्चामा रहँदै आए । तर, उनै भरतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
चलचित्र मेयरमा मेयरको भूमिका समेत खेलिरहेका मेयर हुन भरत थापा । उनको जीवन संघर्षमा आधारित चलचित्र बनिरहँदा भरत थापामाथि मुद्दा दायर भएको हो ।
थापाविरुद्ध ५ करोड ३३ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप छ । उनले बचत गरेको कुल सम्पत्तिमा उक्त सम्पत्ति गैरकानूनी देखिएको अख्तियारको आरोप छ ।
माओवादी केन्द्रबाट निर्वाचित भरत थापा चर्चित मेयर हुन् । उनी सर्लाहीमा प्रभावशाली मानिन्थे । तर, अख्तियारको मुद्दा दायरले उनको राजनीतिक जीवनमा धक्का लागेको छ ।