© २०२३
२१ असार, काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले पालिका अधिवेशन गर्ने भएसंगै अधिवेशनका क्रममा पार्टी हितविपरित कार्य हुने गरेको प्रति गम्भीर भएकाे जनाएको छ। पार्टीका उपाध्यक्ष अब्दुल खानले एक सर्कुलर जारी गर्दै पार्टीको छविलाई आघात पार्ने गरि पार्टीको हित विपरीत विभिन्न किसिमका प्रचारबाजी, गुटबन्दी र झैझगडा हुनेभएकाले त्यस्ता कार्य नगर्न नगराउन निर्देशन दिएका छन।
उपाध्यक्ष खानले शान्तिपूर्ण र अनुशासित तवरबाट सर्वसम्मतिले पदाधिकारी चयन गर्न निर्देश गर्दै पार्टीलाई आघात पुग्ने गरी कुनै पनि किसिमको अनावश्यक गुटबन्दी, विरोध, हुलहुज्जत हुने सम्भावना भएमा सो ठाउँमा तत्काल अधिवेशन स्थगित गर्न र अधिवेशनका क्रममा कसैले पार्टीलाई आघात पुग्ने गरी अनुशासनहीन गतिविधिमा संलग्न रहेको पाइएमा उनीहरूको नाम, पद तथा ठेगाना उपलब्ध गराईदिन समेत आग्रह गरेका छन् ।
पार्टीलाई बदनाम गर्ने गरी गुटबन्दी र झैझगडा गर्नेहरूलाई कालो सूचीमा राख्नेदेखि पार्टीबाट निष्कासन गर्ने चेतावनी दिदै कुनै कारणले अधिवेशन स्थगित भएको खण्डमा केन्द्रीय सचिवालयले पछि अधिवेशन गर्ने उपाध्यक्ष खानले सर्कुलरमा उल्लेख गरेका छन ।