© २०२३
काठमाडौं – परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आयोजनामा स्वस्थ शिशु प्रतिस्पर्धा हुने भएको छ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार अस्पतालले प्रत्येक वर्ष कृष्णजन्माअष्टमीको अवसर पारेर यस प्रकारको प्रतिस्पर्धा आयोजना गर्दै आएको छ।
उक्त प्रतिस्पर्धामा सहभागी भई उत्कृष्ट भएका तीन शिशुहरुलाई अस्पतालले पुरस्कार वितरण गर्ने उनले बताए। जसमा ३ क्याटागोरीमा शिशुहरुलाई विभाजन गरिन्छ। जन्मेदेखि ४५ दिन भित्र,४५ दिनदेखि ६ महिनाभित्र र ६ महिनादेखि १ वर्षभित्र गरी ३ क्याटागोरीमा शिशुलाई विभाजन गरिन्छ।
हाल अस्पतालले तीनै क्याटोरीका फरक फरक शिशुहरुलाई प्रतिस्पर्धामा सामेल गराउनका लागि फर्म वितरण गरिरहेको डा अधिकारी बताउँछन्। उक्त प्रतिस्पर्धामा भाग लिनका लागि एक महिनाभित्र आवेदन दिइसक्नुपर्नेछ। प्रतिस्पर्धापश्चात् बच्चा,गाइनो तथा अन्य चिकित्सकहरुको टोलीले बच्चाको सबै पक्षको मापन गरेपश्चात् उनीहरुको श्रेणाी विभाजन गरी उत्कृष्टता घोषणा गर्नेछन्।
उक्त छनौट कमिटीले बच्चा उमेर अनुसारको तौल,माइलस्टोन डेभलपमेन्ट लगायतको पक्ष ठीक भए नभएको यकिन गरेर उत्कृष्टता घोषणा गर्ने डा अधिकारी बताउँछन्। प्रतिस्पर्धामा उत्कृष्ट घोषणा भएका मध्ये पहिलो,दोस्रो तथा तेस्रोलाई प्रमाणपत्रसहित पुरस्कृत गरिने छ ।
के आधारमा बच्चालाई उत्कृष्ट घोषणा गरिन्छ ?
जसमा बच्चा जन्मिएको समयको तौल, उमेर अनुसारको माइलस्टोन डेभलपमेन्ट,बच्चाको शारीरिक बनावट , आइक्यु ,पोषण लगायतका पक्षहरु बच्चाको उत्कृष्टता छनौटका आधार हुने डा अधिकारी बताउँछन्। यसका साथै बच्चाको आमाले स्तनपान गराउँछन् या गराउँदैनन्,परिवार नियोजनका साधनको प्रयोग गरे या गरेनन्, सरसफाईको अवस्था लगायतका पक्षहरुको समेत अध्ययन गरिने छ।
प्रतिस्पर्धामा सहभागि हुनका लागि शिशु प्रसूती गृहमा नै जन्मिएको हुनुपर्ने अनिवार्य नियम रहेको छ।