© २०२३
१९ असार, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो दलबाट सरकारमा सहभागी रहेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष सामुहिक राजीनामा बुझाएका छन ।अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए । एमाले सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो । सो अवधिमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि एमालेका सबै मन्त्रीहरुले आज अपराह्न सामुहिक राजीनामा बुझाएका हुन ।
यसअघि पार्टी अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री प्रचण्डलाई पठाएका थिए । प्रधानमन्त्री प्रचण्डले पदबाट राजिनामा नदिएपछि एमालेका मन्त्रीहरु राजिनामा बुझाउन बाध्य भएका हुन । प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्रको बैठकले संसद बैठकमा विश्वासको मत लिन सुझाव दिएको छ ।