© २०२३
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीमैत्री वातावरण निर्माण गर्नका लागि थप कानुन संशोधन र सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘प्लास्ट नेपाल-२०२४’ प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै उनले लगानीका लागि भएका कानुनी सुधारहरू कार्यान्वयनको चरणमा नपुगेको गुनासो गरे। उनका अनुसार गत वैशाखमा लगानी सम्मेलनमार्फत केही कानुन अध्यादेशद्वारा संशोधन गरिए पनि तिनका नियमावली र कार्यविधि अझै तयार नहुँदा व्यावसायिक वातावरणमा अपेक्षित सुधार आउन सकेको छैन।
ढकालले निजी क्षेत्रका व्यवसायहरूलाई अझै पनि अन्तःशुल्क, उत्पादन खेर जाने समस्या, र मूल्य निर्धारणजस्ता व्यावहारिक कठिनाइले चुनौती दिएको बताए। उनले यस्ता समस्याको छिटो समाधान गरी लगानीमैत्री नीति निर्माण गर्न सरकारसँग आग्रह गरे।
उनले भने, “सरकार र निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलन सम्पन्न भयो, कानुन संशोधन पनि गरियो। तर, नियमावली र कार्यविधि अभावका कारण तिनको प्रभावकारिता देखिएन। आन्तरिक होस् वा बाह्य लगानी, यसलाई प्रवर्द्धन गर्न अझै केही कानुनी परिवर्तन अपरिहार्य छ।”
ढकालले वर्तमान सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएर छलफललाई अघि बढाएको प्रयासको स्वागत गर्दै, महासंघको सुझावअनुसार उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने निर्णयको प्रशंसा गरे। उनले आयोगले व्यवसायीहरूलाई प्राथमिकतामा राखेर लगानीमा अवरोध खडा गर्ने कानुनहरूबारे सुझाव संकलन गर्नुपर्ने आवश्यकता औंल्याए।
ढकालले थपे, “व्यावसायिक समस्याहरूलाई समयमा सम्बोधन गरेर आर्थिक सुधारलाई तीव्रता दिन सकिन्छ। निजी क्षेत्र र सरकारबीचको सहकार्यले छोटो अवधिमा प्रभावकारी सुधार ल्याउन सक्नेछ।”