काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले ८०० मेगावाटको सौर्य ऊर्जाका लागि विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) को माग गर्दा ३६०० मेगावाट बराबरको आवेदन प्राप्त भएको छ। विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालका अनुसार १३४ कम्पनीले करिब ३६०० मेगावाटका लागि आवेदन दिएका छन्, जसको प्राविधिक मूल्यांकन हाल भइरहेको छ।
प्राधिकरणले ०८० चैतमा आगामी दुई वर्षभित्र थप ८०० मेगावाट सौर्य ऊर्जाको खरिद गर्ने उद्देश्यसहित बोलपत्र आह्वान गरेको थियो। एक प्रवर्द्धकले अधिकतम १५० मेगावाटका लागि आवेदन दिन पाउने प्रावधान छ। साना आयोजना (१० मेगावाटभन्दा कम) १८ महिनाभित्र र ठूला आयोजना (१० मेगावाटभन्दा बढी) दुई वर्षभित्र विद्युत् उत्पादन गरिसक्नुपर्नेछ।
प्राधिकरणले तराईका लोड सेन्टरमा विद्युत् मागलाई सन्तुलनमा राख्नका लागि २००, १३२, र ३३ केभी सबस्टेसन नजिकै निर्माण हुने सौर्य आयोजनाका लागि पीपीए गर्ने तयारी गरिरहेको छ। जलविद्युत् आयोजनामा समय लाग्ने भएकाले हिउँदमा बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा छिटो जोडिन सक्ने सौर्य ऊर्जालाई प्राथमिकता दिइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
९६३ औं बैठकले सौर्य ऊर्जाको प्रतिस्पर्धी आधारमा खरिद गर्न प्रतियुनिट अधिकतम ५ रुपैयाँ ९४ पैसा आधार दर तोकेको छ। यसअघि एक सय मेगावाट सौर्य ऊर्जाका लागि न्यूनतम पाँच रुपैयाँ ८६ पैसामा पीपीए प्रस्ताव आह्वान गरिएको थियो। हालसम्म प्रतिस्पर्धाबाट १७५ मेगावाटको पीपीए सम्पन्न भएको छ, जसमा १०७ मेगावाट क्षमता सञ्चालनमा छ र थप ३० मेगावाटका आयोजना पीपीए प्रक्रियामा छन्।
प्राधिकरणको देवीघाट जलविद्युत् केन्द्र परिसरमा २५ मेगावाट क्षमता रहेको सौर्य आयोजना सञ्चालनमा छ। गण्डक, मध्यमर्स्याङ्दी, र सुर्खेतमा सौर्य ऊर्जाका थप आयोजनाहरू खरिद प्रक्रियामा रहेका छन्। विद्युत् विकास विभागका अनुसार ७५७.७ मेगावाटका ४२ आयोजनाले सर्वेक्षण लाइसेन्स लिएका छन् भने ९७.०६ मेगावाटका १४ आयोजना निर्माणाधीन छन्।