समाजको पद्धति र प्रणालीलाई सही ठाउँमा राखेर अभ्यास गर्नुपर्नेहरु त्यसको उल्लंघन गर्दै हिडिरहेका छन् । कसैका लागि पनि गतिलो आइडल व्यक्तित्व छैन जस्तै भन्दा हुन्छ । राजा हटाएर नवराजाहरु धेरै बन्न खोजिरहेका छन् । परिवर्तन त केही व्यक्तिका लागि मात्र जस्तो देखिएको छ अहिले । डोर बहादुर बिष्टको पुस्तकमा भनिएजस्तै नातावाद कृपावाद र चाकडीप्रथाले जरा गाडिसकेको छ । जस्ले चाकडी गर्छ उसैलाई अवसर दिने प्रवृत्ति हावी छ अहिले । यो समाजलाई अर्को खतरातर्फ लाने बाहेक केही होइन । इमान्दार र क्षमतावानहरु धकेलिएका छन् । सक्षम युवाहरु विदेशिन पासपोर्ट बनाउने लाइनमा छन् । कोही भाषा सिक्न अहोरात्त खटिदैछन् । खेत बाझो छ । गाउँहरु सुनसान भइसकेका छन् । नेताहरु युवालाई देशबाट लखेटेर कस्का लागि शासन गर्ने सोच्दैछन् ? यो गम्भीर विषय हो अहिले ।
समाजमा नैतिकतवान व्यक्ति उपहासको पात्र बनाइन्छन् । जस्को धन उही ठूलो जस्तो देखाइन थालिएको छ । यो समाज दुर्घटनातर्फ धकेलिन लागेको संकेत हो । धेरै सम्पत्ति कमाउनुपर्छ र सुखसयलको जीवन बिताउनुपर्छ भन्ने भावना विकास गरिएको छ धेरैमा । यो प्राप्तीको दौडमा रहेकाहरु अधिकांश तनाव र डिप्रेसनको शिकार भएका छन् । समाजको तल्लो एकाईसम्म धन जोहोका लागि नैतिकता बेच्नेहरु हालीमुहाली हुन खोज्दैछन् । कानूनी राज्यको उपहास भइरहेको छ । दलालीप्रथा हावी छ समाजमा । सस्ता लोकप्रीयताको व्यापार भइरहेको छ । देशले न केही पाओेस् न त जनताले । सामाजिक सञ्जाल बेतुकका विषयमा बहकिइरहेको छ । देश र जनताका लागि घातकहरु सस्ता गफ हाँकेर भाषणवाज बनेका छन् । उनीहरुको प्रवचनमा अलमलिइरहेका छन् लाखौं सोझासाझा ।
यो देशको किसानको चाहना के हो ? मजदूरको ऊर्जा के हो ? उद्योग चलाएर रोजगारी सृजना गर्नेको पीडा के हो ? कमैलाई चाख छ । किसान, मजदूत र लगानीकर्ताले के सिक्ने र के सिकाउने ? राज्यले उनीहरुका लागि के के व्यवस्था गर्ने ? त्यसतातर्फ तुकसंगत बहस कहिले चल्ने हो ? यी प्रश्नको हल खोजिएन भने समाज जटिल अवस्थामा जान्छ । यतिसम्मकी देश नै दुर्घटनामा पर्न सक्छ । दुनियाँका लामो इतिहास बोकेका देशहरु त्यसै संकटमा फसेका होइनन् । त्यसै असफल भएका होइनन् । देश असफल राजनीतिक नेतृत्वका कारणले हुन्छ । जनतामा देशप्रति प्रेमभाव देशका लागि परिश्रम भाव पैदा गर्न सकेन भने नयाँ नयाँ समस्या थपिन्छ । त्यतिबेला राज्य नै असफल हुन्छ ।
यहाँ ईमान्दारीता आफ्नो स्वधर्म र वास्तविकता विश्वास गर्नेहरुलाई निरिह हो भनिठान्ने हरुको जमात छ । यी र यस्तै प्रवृत्तिले समाज ओरालो लागिरहेको छ । यसतर्फ प्रत्येक सचेत नागरिकले समयमै सोच्ने बेला भएको छ । देशमा जिम्मेवारीबोध गर्नेहरुको एकता जरुरी छ । पसिना बगाउने हातहरु जोडिन जरुरी छ । शान्तिका आवाजहरु बुलन्द हुनैपर्छ ।
समाजलाई अराजकताको भूमरिबाट निकाल्नै पर्छ । कोही त आओस् डुब्न लागेको डुंगालाई बचाऊ । देशले यसो भनिरहेको छ । असल राजनीतिज्ञ, पत्रकार, कलाकार, प्रशासक, सुरक्षाकमी, सामाजिक अगुवा र जिम्मेवार व्यक्तिहरु यो देशमा नभएका होइनन् । उनीहरु ठूलो संख्यामा छन् । तर, उनीहरु विभाजित छन् । असल व्यक्तिहरुको एकता जरुरी छ । थोरै संख्यामा रहेका खराब व्यक्तिहरुले धेरै संख्यामा रहेका असलहरुलाई अप्ठ्यारोमा पारिरहेका छन् । देश बर्बाद बनाइरहेका छन् । असलको एकता जरुरी भइसकेको छ । यसमा कुनै ढिलाई हुन्न । जति ढिलो हुन्छ उति समाज बर्बादीतर्फ धकेलिन्छ ।