आईएमएफ टोली प्रमुख सार्वत जहाँले जारी गरेको विज्ञप्तिमा पछिल्लो समय नेपालमा आयातमा सकारात्मक वृद्धि, कर संकलनमा सुधार, र सार्वजनिक लगानीमा बृद्धि देखिएको उल्लेख गरिएको छ। यी सुधारहरूले अर्थतन्त्रमा प्रारम्भिक सुधारको संकेत दिएका छन्।
अहिले कर्जा विस्तारमा पनि सुधार भइरहेको छ, यद्यपि यो अझै नोमिनल आर्थिक वृद्धिभन्दा तल छ। वस्तुको मूल्यमा कमी र कमजोर मागका कारण गत आर्थिक वर्षमा मूल्यवृद्धि दर ३.६ प्रतिशत मात्र रहेको बताइएको छ।
बलियो रेमिट्यान्स र पुनरुत्थान हुँदै गएको पर्यटन क्षेत्रको साथमा निरन्तर बढिरहेको विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्रलाई केही राहत दिएको छ, तर दीर्घकालीन आर्थिक विकासका लागि सुधारको गति अझै बढाउनुपर्ने आईएमएफको सुझाव छ।
आईएमएफले नेपालका १० ठूला बैंकहरुको सम्पत्ति र कर्जाको स्थिति अविलम्ब पुनरावलोकन गर्नुपर्नेमा जोड दिएको छ। बैंकहरुमा खराब कर्जाको बढ्दो समस्या र पुँजी अभावका कारण निरन्तर अनुगमन आवश्यक भएको बताइएको छ।
सहकारी क्षेत्रको जोखिमलाई सम्बोधन गर्ने र सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐनमा भएका संशोधनलाई कार्यान्वयनमा ल्याउन पनि आईएमएफले सुझाव दिएको छ। नेपाल राष्ट्रबैंक ऐनमा आवश्यक संशोधन र राष्ट्रबैंकको बाह्य लेखापरीक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिइएको छ।
नेपालले आईएमएफसँग गरेको विस्तारित कर्जा सुविधाअन्तर्गत चौथो किस्ता प्राप्त गरिसकेको छ, जसको पाँचौँ समीक्षामा औपचारिक मूल्यांकन गरिने जनाइएको छ।