© २०२३
काठमाडौँ — उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोलको मिश्रणको नीतिमा सरकारले महत्वपूर्ण प्रगति गरिसकेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा सोमबार काठमाडौँमा आयोजना गरिएको ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत् बहस’ कार्यक्रममा मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा आवश्यक तयारी पूरा भएको जानकारी दिएका छन्।
मन्त्री भण्डारीले भने, “पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली तयार भइसकेको छ, अब मूल्य निर्धारण मात्र बाँकी छ। यो पनि हामी एक महिना भित्र टुङ्ग्याउने छौँ।” उनले इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्न सक्ने बताउँदै यस सम्बन्धमा सरकारले आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन दिएको उल्लेख गरे।
इथानोल उत्पादनले पेट्रोलियम पदार्थको खपत घटाउने साथै स्वदेशमा रोजगारी सिर्जनामा पनि योगदान पुर्याउने मन्त्री भण्डारीले थपे। पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्ने विषय हालको चर्चामा रहेको छ।
२०६० सालमा नै इथानोल उत्पादन र प्रयोगको नीति बने पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन। तर, नेपालमा इथानोल उत्पादन र मिश्रण सम्भव रहेको जनाउँदै नेपाल आयल निगमले आवश्यक तयारीका साथ उत्पादनमा जाने प्रतिबद्धता जनाएको छ।
कियान केमिकलका विज्ञ दिनेश पौड्यालले पेट्रोलियम पदार्थमा इथानोलको प्रयोगमा चलिरहेको बहसमा उत्पादन र प्रयोगको सम्भावनालाई ध्यानमा राख्नुपर्ने धारणा राखे। २०६० सालमा नेपालले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरे पनि यो बहसमा सीमित भएको बताए।
पौड्यालले भने, “इथानोलको उत्पादन सम्भावना के हो? नेपालमा यो उत्पादन गर्न सकिन्छ कि सकिँदैन? उत्पादन भएपनि बजारको माग धान्न सक्छ कि सक्दैन? उत्पादन र प्रयोगको सम्भावनालाई अध्ययन नगरी इथानोल प्रयोगमा जोड दिन नहुने धारणा राख्छु।”
पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोललाई १० प्रतिशत सहजै मिश्रण गर्न सकिन्छ भन्ने उदाहरण नेपाल आयल निगमले प्रस्तुत गरेपछि पौड्याले त्यसको खण्डन गरे।
पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले इथानोल मिश्रणको आवश्यकता र महत्वमाथि प्रश्न उठाए। उनले भने, “ईभी (विद्युतीय गाडी) को प्रयोगसँगै पेट्रोलियम पदार्थको आयात झन्झन् घट्दै गएको छ। इथानोल मिश्रण किन र कति आवश्यक छ भन्ने बारेमा प्रश्न उठाउँछु।”
प्रधानले थपे, “नेपालले केही समय अघिसम्म ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्थ्यो। अहिले यो घटेर २ हजार किलोलिटर हाराहारीमा झरेको छ। यस्तो अवस्थामा इथानोल मिश्रणको आवश्यकता किन हो?”
यद्यपि, पेट्रोलियम पदार्थको ढुवानीकर्ता भएका कारण सरकारले निर्देशन दिएको अनुसार नै पेट्रोलियम पदार्थ ढुवानी गर्ने जनाउँदै उनले ढुवानी भाडा राम्रो गर्न आग्रह गरे।
“भारतदेखि नेपालसम्म पेट्रोलियम पदार्थ पाइपबाट ल्याउने योजना २०३९ सालमा बनेको थियो। यसको लगभग ४० वर्षपछि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन ल्याउन सफल भयौँ। अब इथानोल मिश्रणको योजना कहिले साकार हुने हो?” उनले शंका व्यक्त गरे।